पाटन दरबार स्क्वायरका दुई वटा मन्दिरमा बस्न निषेध

ललितपुर  – ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायर क्षेत्रका मन्दिरमा बस्न निषेध गरेको छ। हिजो शनिबारदेखि पाटनका दुई वटा मन्दिरमा बस्न निषेध गरिएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताउनु भयो। 

उहाँका अनुसार मन्दिरमा अनैतिक क्रियाकलाप गरेको भन्ने स्थानीयको गुनासोपछि महानगर प्रमुख चिरीबाबु महर्जनको निर्देशनमा मन्दिरमा बस्न रोक लगाइएको हो।

अहिलेलाई दुई वटा मन्दिरमा मात्रै ‘नो इन्ट्री’ को ट्याग हालिएको छ।  विश्वनाथ मन्दिर र हरिशंखर मन्दिरमा बस्न निषेध गरिएको हो। त्यस्तै पछि त्यहाँ रहेको कृष्ण मन्दिर लगायत अन्य मन्दिरहरूमा पनि क्रमश: निषेध गरिने उहाँले बताउनु भयो। 

अहिले मन्दिर परिसरमा अनैतिक गतिविधि हुन थालेको भन्दै महानगर प्रहरी पनि खटिएका छन्।  बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्मको लागि मन्दिरहरूमा महानगर प्रहरी खटाउन लागेको छ। त्यसबाहेक बेलुकी ११ बजेसम्म मोबाइल प्रहरी खटाइने उहाँले बताउनु भयो।