ललितपुर -ज्यापु समाज यलले प्रथम काजीलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ । समाजका संस्थापक अध्यक्ष काजीलालको सम्झनामा ललितपुरका ४० वटा टोल र बहाःबहीका खेलाडीको सहभागितामा हुने प्रतियोगितामा ४ समूहविच प्रतिस्पर्धा गराइने जानकारी सोमबार भएको पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
समाजको श्रम तथा युवा विभाग अन्तर्गतको युवा तथा खेलकुद उपसमितिका संयोजक बाबुराजा महर्जनले प्रतियोगिता ज्यापु समाजले आयोजना गर्न लागिएको भएता पनिे ललितपुरका सबै टोल, बहाःबही र ननीहरुमा पत्राचार गरिएको र यसमा सबैले सहभागिता जनाउन सक्ने बताउनुभयो ।
प्रतियोगिताका रेफ्री अनुप रत्न शाक्यले सबै समूहमा गरेर करिब २०० देखि २५० जना खेलाडीहरुको सहभागीता रहने अनुमान रहेको बताउनु भयो । प्रतियोगितामा सहभागिता हुनका लागि १९ गतेसम्म नाम बुझाउन समय दिइएको कारण अहिले नै यकिन खेलाडी र टोलीको संख्या बताउन नसकिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि १६ लाख रूपैयाँ लागत अनुमान रहेको र विजेताहरूमध्ये मेन्स डबलमा प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुने दुई समूहलाई ५–५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । यसैगरी भेन्ट्रान्स डबलमा १५ हजार, ८ हजार र ४–४ हजार, अण्डर १७ ब्वाइज तथा गर्ल्सका लागि १० हजार, ५ हजार र ३–३ हजार रूपैयाँ क्रमशः प्रथम, द्वितीय र तृतीय हुनेलाई पुरस्कार प्रदान गरिनेछ ।
यही २० गतेबाट हुने प्रतियोगिता बालकुमारीस्थित रिमिक्स ब्याडमिन्टन क्लबमा ४ दिनसम्म चल्नेछ ।
प्रतियोगिता हरेक वर्ष संचालन गर्नका लागि स्व. काजिलाल अवालेको परिवारकातर्फबाट १० लाख रुपैयाँको अक्षयकोष राख्ने प्रतिबद्धता जनाएको र अन्य दाताहरूको सहयोगमा कोष बृद्धि गर्दै जाने लक्ष्य रहेको संयोजक बाबुराजा ज्यापुले बताउनु भयो ।
