भक्तपुर– मध्यपुरथिमि नगरपालिका-८ मनोहरा किनार क्षेत्रमा आज बिहानदेखि स्थानीय र पाहुना चराको गणना सुरु गरिएको छ ।
वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरललगायत विभिन्न पन्छीसँग सम्बन्धित सङ्घसंस्थाको समन्वयमा भएको पन्छी गणनामा मनोहरा खोला आसपासका क्षेत्रमा रहेको पाहुनाका रुपमा विभिन्न देशबाट आएका चराको गणना गरिने वन्यजन्तु एवं चराका बारेमा अनुसन्धान एवं फोटोग्राफी गर्दै आएका थिमिका सञ्जय था श्रेष्ठले बताउनु भयो।
बढ्दो सहरीकरण र प्रदूषणले पछिल्लो समय यस क्षेत्रमा विगतमा पाइने गरिएका चरा देखिन छाडेको जनाउँदै श्रेष्ठले यस वर्ष आज सुरु भएको चरा गणनाले स्थानीय रैथाने र पाहुना चरा गरी कति प्रजातिका भेटिन्छन् ती चराको अभिलेखीकरण गरिने जानकारी दिनुभयो ।
वेटल्याण्ड इन्टरनेशनलको आयोजना एवं नर्थ प्वाइन्ट मल, हिमालयन नेचुरल, नेपाल पन्छीविद् सङ्घ, लेट्स वर्क फर विल्डलायफ, नेपाल पन्छी संरक्षण सङ्घ, कोशी टप्पु वर्ड वाचिङ क्पाम्प प्रालि सुनसरी र पोखरा पन्छी समाजको समन्वयमा यही जनवरी २ देखि १८ सम्म नेपालका विभिन्न क्षेत्रमा पन्छी गणना गर्ने क्रममा आज भक्तपुरको मनोहरा क्षेत्रमा चरा गणना सुरु गरिएको हो ।
