रातो मच्छिन्द्रनाथको रथलाई आज गाबहालबाट तानेर मंगलबजार पुर्‍याउने तयारी

ललितपुर – सोमबारदेखि शुरु भएको  रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा रथलाई आज गाबहालबाट तानेर मंगलबजार पुर्‍याउने तयारी भएको छ। रथमा समस्या देखिएकोले मर्मत गरेर आज तान्नको लागि तयारी भएको हो।

जात्राको पहिलो दिन सोमबार रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्‍याउने क्रममा रथ देब्रेतिर ढल्किएकोले रथलाई गाबहाल नपुग्दै आउने टोल श्रीबहालसम्म मात्र तानेको थियो। मंगलबार ढल्किएको रथलाई श्रीबहालबाट तानेर गाबहालसम्म पुर्‍याइएको थियोे भने हिजो रथलाई गाबहालमा नै राखेर मर्मत गरेपश्चात आज तान्नको लागि तयारी भएको हो।

आज दिउँसो ४ बजेपछि रथलाई तान्नको लागि तयारी भएको गुथि संस्थान ललितपुर शाखाले जनाएको छ।

आज पनि गाबहालमा रातो मच्छिन्द्रनाथ र मीननाथको दर्शन गर्न भक्तजनको घुईंचो लागेको छ ।

लिच्छवीकालमा उपत्यकामा पानी नपरेर अनिकाल भएकोले अहिलेको भारतको आसाममा पर्ने कामरुकामाक्षबाट रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामाल् याएको र त्यसपछि सहकाल शुरु भएको किंवदन्ती छ । भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौंको तान्त्रिक बन्धुदत्त आचार्य र ललितपुरका ललित ज्यापू तीन जना मिलेर रातो मच्छिन्द्रनाथलाई उपत्यकामा ल्याएको भन्ने जनविश्वास छ ।