ललितपुर – सोमबारदेखि शुरु भएको रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा आज रथलाई सुन्धारा पुर्याउने तयारी भएको छ। हिजो रथलाई महापाल पुर्याइएको हो। हिजो रथलाई गाःबहालबाट तानेर मंगलबजार लैजाने क्रममा रथ अड्किएपछि मंगलबजार नपुग्दै आउने टोल महापालसम्म मात्र तानेको थियो।
आज रथलाई तान कसेपछि महापालबाट मंगलबजार हुँदै पाटनको सुन्धारामा पुर्याउने तयारी भएको रथ निर्माणमा संलग्न दिलकुमार बाराहीले बताउनु भयो। उहाँका अनुसार आजको रथयात्रा दिउँसो ३ बजे पछि शुरु गर्नको लागि तयारी भएको छ ।
रथमा समस्या देखिएकोले अस्ती बुधबार रथयात्रा रोकेर दिनभर मर्मत गरेर मात्र हिजो तानेको होे। जात्राको पहिलो दिन सोमबार नै रथ देब्रेतिर ढल्किएकोले रथलाई गाबहाल पुर्याउन नै दुई दिन लागेको थियो। विगतमा रथलाई पुल्चोकबाट एकै दिनमा तानेर गाबहाल पुर्याइने गरिन्थ्योे। जात्राको शुरुमा नै रथमा समस्या देखिएकोले यसवर्षको रथयात्रा लम्बिने देखिएको छ।
लिच्छवीकालमा उपत्यकामा पानी नपरेर अनिकाल भएकोले अहिलेको भारतको आसाममा पर्ने कामरुकामाक्षबाट रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याएको र त्यसपछि सहकाल शुरु भएको किंवदन्ती छ ।
फोटोः राजाराम तण्डुकार
