काठमाडौँ । काठमाडौं महानगरपालिका वडा १९ का अध्यक्ष राजेश कुमार श्रेष्ठलाई महानगरको पूर्वाधार समितिको संयोजकमा चयन गरिएको छ । महानगरको मंगलवार वसेको २३ औं कार्यपालिका बैठकले उहाँलाई संयोजकमा चयन गरिएको हो ।
वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएपछि रिक्त भएकोे उक्त पदमा श्रेष्ठलाई चयन गरिएको हो ।
त्यसैगरी, समितिको सदस्यमा वडा नं. १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनलाई तोक्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेलाई कायममुकायम नगर प्रहरी वरिष्ठ उपरीक्षक तोकेको छ ।
बैठकले वडा १९ मा रहेको स्वास्थ्य प्रवर्धन केन्द्रको स्वामित्व महानगरले ग्रहण गर्ने निर्णय समेत गरेको छ । वडा नं. २९ को कार्यालय भवन र स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालनका लागि अनामनगरमा रहेको कित्ता नंं ८, ९ र १० को सरकारी जग्गा महानगरपालिकाको स्वामित्वमा प्राप्त गर्न नेपाल सरकार, मन्त्री परिषदको कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ । यस्तै वडा नं. ३० को भवन निर्माण गर्न रामचन्द्र निजी गुठीको जग्गा लिजमा लिएर महानगरपालिकाको नाममा भवन नक्सा पास गरी वडा कार्यालय निर्माण गर्ने निर्णय गरेको छ ।
वडा नं. ४ धुम्बाराहीको तस्वाः देगः मन्दिर परिसरको निर्माण कार्यको म्याद थपेको छ । यस्तै वडा नं. ११ भद्रकालीदेखि सिंहदरबार सडक किनाराको रेलिङ् निर्माण र वडा नं. ६ रामहिटीमा निर्माणाधीन साहित्य सदनको भेरिएसन र निर्माण कार्यको अवधि थप गर्ने निर्णय गरेको छ ।
