काठमाण्डाै – विविध कारणले आधा शताब्दीसम्म बन्द भएको पचली भैरवको यःसिं ठड्याउने जात्रा यस वर्ष पुनःस्थापित भएको छ। रञ्जितकार समुदायका गुठियारहरूले हिजो आश्विन शुक्ल चौँथीका दिन यःसिं ठड्याएर ५० वर्षअघि बन्द भएको परम्परालाई सुचारू गरेका हुन् ।
यःसिंमा विश्वध्वजा फरफराउनु पर्ने परम्पराअनुसार रञ्जितकार समुदायका थकाली ९१ वर्षका बालगोपाल रञ्जितकारले विशेष पुजासहित विश्वध्वजा चढाउनु भएको थियो। सो अवसरमा हनुमानढोका दरवार हेरचाह अड्डामा रहेको शार्दूल जङ्ग गण गुल्मबाट आएको गुर्जुको पल्टनकातर्फबाट तोप पड्काएर सलामी दिइएको थियो भने तीनै तहका जनप्रतिनिधिहरुका साथै जात्रा व्यवस्थापन समिति, पचलि भैरब क्षेत्र विकास समितिलगायत विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरु तथा भक्तजनहरूको बाक्लो उपस्थिति थियो ।
जात्राका लागि साँखुमाथिको जङ्गलबाट ल्याएको रुखलाई मचलीमा राखिएको थियो भने मंगलबार तानेर पचली पुर्याइएको थियो । हिजो विहानको शुभ साइतमा यःसिं ठड्याएसँगै पचलीभैरवको जात्रा शुरू भएको थियो। यसरी उठाइएको यःसिँ पचलि भैरवको जात्रा अवधिभरी प्रदर्शनमा राखिनेछ।
पचली भैरवको जात्रा समापनसँगै यःसि कार्तिक ४ गते अष्टमिका दिन ढालिनेछ ।
h 108.111
108.111
1132.792
