ललितपुरमा एकै पटक १४ सय वटा स्मार्ट बत्तीकाे उद्घाटन

ललितपुर– ललितपुरमा एकै पटक १४ सय वटा स्मार्ट सडक बत्तीकाे उद्घाटन भएकाे छ । हिजो बिहीवार ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट सडक बत्तीकाे संयुक्तरूपमा उद्घाटन गर्नुभएकाे हाे ।

दाेस्राे चरणअन्तर्गत ललितपुरकाे भैँसेपाटी, खाेकना, बुङ्गमती, धापाखेल, सुनाकाेठी र हरिसिद्धीमा स्मार्ट बत्ती जडान भएकाे हाे । जडान भएका बत्तीमा ९० वाटकाे ११ सय ६१ वटा र ६० वाटकाे दुई सय ३९ वटा बत्ती रहेका छन् । सडक क्षेत्रलाई उज्यालाे बनाउन १२ वटा ‘हाई मास्ट’ जाेडिएकाे छ । यी बत्ती जडान गर्नका लागि तीन सय ७४ वटा नयाँ पाेल राखिएकाेमा एक हजार तीन वटा पाेल पहिलेकै थिए । स्मार्ट बत्ती बाल्नका लागि २४ वटा फिडर प्यानल पनि जाेडिएकाे छ । स्मार्ट बत्तीकाे एरिया कभरेज ३२ किलाेमिटर रहेकाे छ । 

नाै कराेड २५ लाख रुपैयाँकाे लागतमा स्मार्ट बत्ती जडान भएकाे महानगरपालिकाले जनाएकाे छ । यसमा ६० प्रतिशत लगानी महानगरकाे र ४० प्रतिशत प्राधिकरणकाे छ । भारतकाे प्लिप्स कम्पनीले उत्पादन गरेकाे बत्ती जडान गरेकाे महानगरले जनाएकाे छ ।

महानगरले यसअघि पहिलाे चरणमा कुपण्डाेल, जावलाखेल, लगनखेल, सातदाेबाटाे, एकान्तकुना, मङ्गलबजार, पाटन ढाेका क्षेत्रमा छ सय ६९ वटा स्मार्ट बत्ती जडान गरेकाे थियाे । जडान गरिएका बत्तीमा ५० वाटका चार सय २५ वटा, ८० वाटका दुई सय २० वटा र एक सय २० वाटका २४ वटा रहेका छन् । यस्तै कम्युनिकेशन गेटवे १२ वटा जडान गरिएकाे थियाे । त्याे बेला तीन सय ३१ वटा नयाँ पाेल राखिएकाेमा तीन सय वटा पुरानै पाेल थियाे ।

पहिलाे चरणकाे स्मार्ट बत्ती जडान गर्दा पाँच कराेड पाँच लाख रुपैयाँ खर्च भएकाेमा सबै महानगरले बेहाेरेकाे थियाे । त्याे बेला भारतीय कम्पनी क्रम्पटाेनले उत्पादन गरेकाे बत्ती प्रयाेग भएकाे थियाे ।