ललितपुरमा १६७ जना जेष्ठ नागरिक अभिनन्दित

ललितपुर  – जेष्ठ नागरिक समाज नेपालले ललितपुर महानगरपालिका क्षेत्रभित्रका १६७ जना  जेष्ठ नागरिकहरुलाई अभिनन्दन गरेको छ।जेष्ठ नागरिक समाज नेपालका अध्यक्ष बद्रिप्रसाद जोशीको सभाअध्यक्षतामा हिजो शनिबार मंगलबजारमा आयोजित कार्यक्रममा महानगर क्षेत्रभित्रका १६७ जना  ज्येष्ठ नागरिकलाई बृहत रूपमा अभिनन्दन गरेको हो।

नेवार परम्परा अनुसार ८८ वर्षमा गरिने तेस्रो जंकु अर्थात देवरथारोहण सकिसकेका वा ८९ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । कार्यक्रममा १०५ वर्षकी जनकमाया कर्माचार्य, १०४ वर्षकी चिरी मै महर्जन, १०३ वर्षका तुल्सी देवी श्रेष्ठ तथा नानी माया श्रेष्ठ, १०२ वर्षका मनमाया महर्जन, बाँलाचा महर्जन, र अष्टमाया महर्जनलाई विशेष अभिनन्दन गरिएको थियो।

कार्यक्रममा जेष्ठ नागरिकहरूलाई नेवार परम्परा अनुसार बेताली बाँधेर, दोसल्ला ओढाएर, सगुन, दक्षिणासहित अभिनन्दन पत्र दिएर सम्मान गरिएको थियो।

सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाले महानगरपालिकामा बसोबास गर्ने जेष्ठ नागरिकलाई दशै खर्च बापत १० हजार रुपैयाँ दिने गरेको बताउँदै जेष्ठ नागरिकलाई लक्षित गरी निमोनियाविरुद्धको खोप अभियान भइरहेकोले छुटेकाहरूलाई खोप लिनको लागि आग्रह गर्नुभयो।

कार्यक्रममा जेष्ठ नागरिक समाजका अध्यक्ष जोशी र सचिव कुलबहादुर चित्रकारले समाजले गरिआएका गतिविधिको बारेमा जानकारी दिनु भयो।

सम्मान कार्यक्रममा ललितपुर महानगरपालिका, वडा नम्बर ५, वडा नम्बर ६, चित्रकार पुँ समाज, दरवार स्क्वायर महिला समूह, लगायत विभिन्न संघ संस्था एवमं व्यक्तिकातर्फबाट आर्थिक, जिन्सी लगायतको सहयोग प्राप्त भएको जानकारी दिइएको थियो।

जेष्ठ नागरिक समाज नेपालले २०६४ सालदेखि हरेक चार, चार वर्षमा महानगर क्षेत्रभित्रका ८९ वर्ष पूरा भएका ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दैआएको छ। यसपालीको सम्मान कार्यक्रम पाँचौ संस्करणको कार्यक्रम हो।

तस्विरः हर्क बहादुर श्रेष्ठ