काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।
उनी पार्किन्सन रोगबाट पीडित थिए । पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए । केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएको थियो ।यसै बिच नेपालको आजै दाहसंस्कार गरिने भएको छ । मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएका नेता नेपालको कुनै श्रद्धाञ्जली सभा नराखिने भएको छ ।
नेकपा एमालेका नेता समेत रहेका नेपालको परिवारकै आग्रह अनुसार पार्टी कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम नराख्ने निर्णय भएको केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।
‘परिवारकै आग्रह अनुसार श्रद्धाञ्जलीका कुनै कार्यक्रम राखिएका छैन,’ उनले भने, ‘पशुपतिस्थित विद्युतीय शवदाह गृहमा आजै अन्त्येष्टि गरिनेछ ।’
एमालेका संस्थापक नेता रहेका र पटकपटक मन्त्री भएका नेता नेपालको श्रद्धाञ्जलीका लागि पार्टीले कुनै कार्यक्रम नगर्ने भएको छ ।
आर्यघाटमा अन्तिम संस्कारअघि पार्टीको झण्डा ओढाउने प्रचलन पनि प्रदीप नेपालको हकमा तोडिने भएको छ । परिवारका सदस्य पनि यसको विपक्षमा रहेको बुझिएको छ ।
