क्यानडाले विश्वकप फुटबलको इतिहासमै पहिलो पटक नकआउट चरणमा जित दर्ता गरेपछि प्रशिक्षक जेसी मार्श भावुक बने। खेल सकिएलगत्तै उनले मैदानमै आफ्ना खेलाडीलाई घेरा हालेर जोशिलो सम्बोधन गरे।
‘तपाईंहरू आज क्यानडाका नायक हुनुहुन्छ। भविष्यमा यो खेल खेल्ने क्यानडाका हजारौं बालबालिकाका लागि तपाईंहरू प्रेरणा बन्नुभएको छ। क्यानडामा फुटबलको भविष्य उज्ज्वल छ र त्यसको कारण तपाईंहरू नै हो। आफूले गरेको प्रदर्शनमा गर्व गर्नुहोस्। तपाईंहरूले अन्तिम क्षणसम्म विश्वास गुमाउनुभएन, प्रत्येक बलका लागि संघर्ष गर्नुभयो। तपाईंहरू साँच्चिकै क्यानडाका नायक हुनुहुन्छ,’ मार्शले उत्साहपूर्वक भने।
सोफी स्टेडियममा आइतबार भएको अन्तिम ३२ को खेलमा कप्तान स्टेफेन एउस्ताकियोले इन्जुरी समयमा गरेको निर्णायक गोलको मद्दतमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै पहिलो पटक अन्तिम १६ मा स्थान बनायो।
क्यानडामा फुटबल अझै पनि सबैभन्दा लोकप्रिय खेल नभए पनि मार्शले यो जितले देशभर नयाँ पुस्तालाई फुटबलतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरे।
‘हामीले यसअघि नै केही उत्कृष्ट अवसर सदुपयोग गरेको भए खेल सहज बन्न सक्थ्यो। तर‚ अन्तिम समयमा आएको यो गोलले जितलाई अझ नाटकीय बनायो। यसले क्यानडाभर ठूलो प्रभाव पार्नेछ र धेरैलाई फुटबल खेल्न प्रेरित गर्नेछ,’ उनले भने।
९० मिनेटभन्दा बढी समयसम्म दक्षिण अफ्रिकाको मजबुत रक्षापङ्क्ति तोड्न संघर्ष गरेको क्यानडाले दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा सफलता पायो।
एलिस्टेयर जोनस्टनको लामो पास दक्षिण अफ्रिकी रक्षकले क्लियर गर्ने क्रममा बल सीधै एउस्ताकियोको खुट्टामा पुग्यो। लस एन्जलस एफसीबाट व्यावसायिक फुटबल खेलिरहेका उनले छातीले बल नियन्त्रण गर्दै एकै प्रहारमा गोलपोस्टको कुनामा बल पठाए। त्यसपछि उनी बेन्चतर्फ दौडिँदै उत्सव मनाउन पुगे।
‘हामीले यो जितका लागि निकै मिहिनेत गरेका थियौं। हाम्रो टोली परिवारजस्तै छ। हामी एकअर्काका लागि लड्छौं, त्यसैले यस्ता विशेष क्षण सम्भव भएका हुन्। म निकै खुसी छु, तर हाम्रो काम अझै सकिएको छैन,’ एउस्ताकियोले भने।
फिफा वरीयतामा ३०औं स्थानमा रहेको क्यानडाले अब क्वार्टरफाइनल प्रवेशका लागि नेदरल्यान्ड्स र मोरक्कोबीचको विजेतासँग आगामी शनिबार ह्युस्टनमा प्रतिस्पर्धा गर्नेछ।
समूह चरणका तीनै खेल घरेलु मैदान टोरन्टो र भ्यानकुभरमा खेलेको क्यानडाले अन्तिम खेलमा स्विट्जरल्यान्डसँग २–१ ले पराजित भएपछि नकआउट चरणका लागि अमेरिका जानुपरेको थियो। त्यसका बाबजुद प्रशिक्षक मार्शको टोलीले विश्वकपको अन्तिम ३२ को पहिलो खेलमै ऐतिहासिक जित निकाल्दै पहिलो पटक अन्तिम १६ मा स्थान सुरक्षित गर्यो।
‘हामीले कहिल्यै विश्वास गुमाएनौं। यो गोल र यो जित हामीले वास्तवमै डिजर्भ गरेका थियौं,‘ एउस्ताकियोले भने।
