नेवाः सांस्कृतिक ज्ञानकोषको डिजिटल संस्करण सार्वजनिक

नेपालभाषाको भाषा, लिपि, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको ‘नेवाः सांस्कृतिक ज्ञानकोष’ को डिजिटल (अनलाइन) संस्करण सार्वजनिक गरिएको छ।

काठमाडौं महानगरपालिकाको आयोजनामा आइतबार सम्पन्न कार्यक्रममा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले डिजिटल ज्ञानकोषको औपचारिक शुभारम्भ गर्दै भाषा, संस्कृति र सम्पदाको संरक्षणमा आधुनिक प्रविधिको प्रयोग समयको आवश्यकता भएको बताइन्। उनले कृत्रिम बौद्धिकता (AI) र भाषा प्रविधिको माध्यमबाट नेपालभाषालाई डिजिटल युगसँग जोड्ने यो प्रयास ऐतिहासिक रहेको उल्लेख गरिन्।

कार्यक्रमको अध्यक्षता नेपालभाषा एकेडेमीका कुलपति कृष्णसुन्दर मल्ल ले गरेका थिए।

पाँच खण्डमा प्रकाशित ‘नेवाः सांस्कृतिक ज्ञानकोष’ को डिजिटल संस्करण सार्वजनिक भएसँगै विश्वका १६७ भन्दा बढी भाषामध्ये नेपालभाषालाई पनि आधुनिक एआई प्रविधिमार्फत स्वतः अनुवाद गर्न, सिक्न तथा अध्ययन–अनुसन्धान गर्न सकिने वातावरण तयार भएको आयोजकले जनाएको छ। यसले नेपालभाषाको डिजिटल संरक्षण र विश्वव्यापी पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

नेपालभाषा एकेडेमी र काठमाडौं महानगरपालिकाको दुई वर्ष लामो सहकार्य तथा प्रविधि विज्ञ एलेन वैलोचन तुलाधर को प्राविधिक नेतृत्वमा विकसित यस डिजिटल प्रणालीअन्तर्गत मोबाइल एप, अनलाइन ज्ञानकोष तथा नेपालभाषासम्बन्धी विभिन्न सूचना, सेवा र अध्ययन सामग्री एकीकृत रूपमा उपलब्ध गराइएको छ।

कार्यक्रममा नेपालभाषा तथा संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। यस परियोजनालाई नेपालभाषाको डिजिटल पुनर्जागरणतर्फको ऐतिहासिक कदमका रूपमा लिइएको छ।