छैटौँ विश्वकपमै अन्तिम यात्रा टुंग्याउने रोनाल्डोको घोषणा

काठमाडौँ । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोले जारी सन् २०२६ को फिफा विश्वकप आफ्नो खेल जीवनको अन्तिम विश्वकप हुने आधिकारिक रूपमा घोषणा गरेका छन्।

स्पेनविरुद्धको अन्तिम–१६ को महत्त्वपूर्ण खेलअघि अमेरिकाको डलासमा आयोजित पत्रकार सम्मेलनमा ४१ वर्षीय रोनाल्डोले यो आफ्नो छैटौँ तथा अन्तिम विश्वकप सहभागिता हुने बताएका हुन्। उनले यो घोषणालाई भावुक क्षणभन्दा पनि आफ्नो लामो अन्तर्राष्ट्रिय यात्राप्रतिको गर्वका रूपमा प्रस्तुत गरे।

रोनाल्डोले भने, “म यो विश्वकपलाई पूर्ण रूपमा उपभोग गर्न चाहन्छु, किनकि यो मेरो अन्तिम विश्वकप हुनेछ। तर, म आशा गर्दछु कि भोलिको खेल नै मेरो विश्वकपको अन्तिम खेल हुने छैन।”

उनले मैदानमा आफ्नो सम्पूर्ण क्षमता दिएको उल्लेख गर्दै भने, “जेसुकै परिणाम आए पनि म सन्तुष्ट हुनेछु। मैले फुटबलका लागि शतप्रतिशत होइन, हजार प्रतिशत दिएको छु। आज पनि म फुटबललाई उत्तिकै माया गर्छु।”

सन् २००३ मा १८ वर्षको उमेरमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका रोनाल्डोले पोर्चुगललाई सन् २०१६ को युरो कप र २०१९ को यूईएफए नेसन्स लिगको उपाधि दिलाएका थिए। अन्तर्राष्ट्रिय फुटबल इतिहासका सर्वाधिक गोलकर्ता बनेका उनले हालसम्म १४६ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन्। जारी विश्वकपमा पनि उनले उज्बेकिस्तान र क्रोएसियाविरुद्ध गरी तीन गोल गरेका छन्।

उमेर बढ्दै जाँदा आफ्नो खेलशैलीमा आवश्यक परिवर्तन गर्दै अझै पनि उच्च स्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको रोनाल्डोले बताए। विश्वकप जित्नु वा नजित्नुले आफ्नो खेल जीवनको मूल्याङ्कन नहुने उल्लेख गर्दै उनले भगवानप्रति कृतज्ञता व्यक्त गरे।

यसैबीच, पोर्चुगल र स्पेनबीचको बहुप्रतीक्षित अन्तिम–१६ को खेल सोमबार डलासमा हुँदैछ। लगातार दोस्रोपटक क्वार्टरफाइनल पुग्ने लक्ष्यसहित पोर्चुगल मैदानमा उत्रनेछ भने सबैको ध्यान रोनाल्डोको सम्भावित अन्तिम विश्वकप यात्रातर्फ केन्द्रित भएको छ।