क्रोएसिया र पोर्चुगलबीचको रोमाञ्चक खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो निकै आत्तिएको पाइएको छ । पोर्चुगलले २-१ ले जितेको उक्त खेलमा रोनाल्डोको मुटुको गति अत्यधिक बढेको पाइएको हो ।
स्पेनिस पत्रिका मार्काका अनुसार खेलको तनावपूर्ण क्षणहरूमा रोनाल्डोको मुटुको धड्कन प्रतिमिनेट १५७ सम्म पुगेको थियो । यो निकै तीव्र गति हो । किनभने सामान्य अवस्थामा मान्छेको मुटु औसतमा ७२ पटक धड्किन्छ ।
खेलाडीको हकमा मुटुको मांसपेशी निकै बलियो हुने भएकाले प्रतिमिनेट ४० देखि ६० पटकसम्म मात्र धड्किन्छ । तर, खेलका क्रममा रोनाल्डोको मुटु अत्यधिक मात्रामा धड्किएको पाइएको हो ।
यो तथ्याङ्क फिटनेस प्रविधि कम्पनी हुप (WHOOP)मार्फत सार्वजनिक भएको हो । यस कम्पनीकोयस रोनाल्डो वर्ल्ड ब्रान्ड एम्बेसडर र लगानीकर्ता समेत हुन् ।
हुपले सार्वजनिक गरेको खास-खास क्षणमा रोनाल्डोको धड्कन यस्तो छ :-
पेनाल्टीको तयारी गर्दा- १४४ बिट्स प्रतिमिनेट
पेनाल्टीमार्फत १-१ को बराबरी गोल गर्दा- १५७ बिट्स प्रतिमिनेट
गोन्जालो रामोसले गोल गर्दा : १३४ बिट्स प्रतिमिनेट
खेल सकिएको अन्तिम सिट्ठी बज्दा : १४१ बिट्स प्रतिमिनेट
रोचक त के छ भने खेलको अन्तिमतिर मैदानबाट बाहिरिएर बेन्चमा बस्दा पनि रोनाल्डोको मन शान्त थिएन । यसबारे उनले भनेका छन्, ‘मैदानमा आफैँ खेल्नुभन्दा बाहिर बसेर खेल हेर्नु झन् बढी तनावपूर्ण र डरलाग्दो हुने रहेछ ।’
टोरोन्टोमा भएको उक्त खेलको अन्तिम समयमा क्रोएसियाले गोल गरे पनि त्यसलाई रेफ्रीले अफसाइड दिएको थियो ।
