काठमाण्डाै – चितवनमा जङ्गली हात्तीको आक्रमणबाट आमा–छोराको ज्यान गएपछि आक्रोशित स्थानीयवासी र निकुञ्ज प्रशासनबीच ४ बुँदे सहमति भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको ‘धुर्बे’ हात्तीले गएराति भरतपुर उपमहानगरपालिका–२३ जगतपुरमा घरमै पसेर आक्रमण गर्दा २१ वर्षकी आशिका बोटे र उहाँका ४ वर्षका छोराको ज्यान गएको थियो । हात्ती धपाउने क्रममा घरसमेत जलेर नष्ट भएको थियो ।
घटनापछि आक्रोशित स्थानीयवासीले मृतकको शव निकुञ्जको प्रवेशद्वारमा राखी धर्ना दिएका थिए । छलफलपछि हात्तीलाई तत्काल नियन्त्रणमा लिने, मृतक परिवारलाई राहत दिने, घर पुनर्निर्माण गर्ने र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो ।
स्थानीयवासीका अनुसार ‘धुर्बे’ हात्तीले लामो समयदेखि बस्तीमा आक्रमण गर्दै आएको थियो । याे हात्तीकाे आक्रमणबाट अहिलेसम्म २५ जनाले ज्यान गुमाइसकेका छन् । २०६९ सालमा यसलाई मार्ने आदेश भएको भए पनि हात्ती ५ वर्ष हराएर पुनः देखा परेको थियो र २०७४ सालमा नेपाली सेनाका एक मेजरको समेत ज्यान लिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जमा ‘रोनाल्डो’, ‘गोविन्दे’, ‘धुर्बे’ लगायतका जङ्गली भाले हात्ती छन् ।
