उत्कृष्ट लयमा रहेको कोलम्बिया अमेरिकामा जारी कोपा अमेरिका फुटबलको फाइनल प्रवेश गरेको छ । आज बिहीबार बिहान भएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियाले अर्को बलियो टोली उरुग्वेलाई निर्धारित समयभित्र १–० ले पराजित गर्दै प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । पहिलो हाफमै १० खेलाडीमा डाउन भएको कोलम्बियाले उरुग्वेलाई खेलमा फर्किन नदिई खेल जित्न सफल भयो । एक प्रमुख उपाधि दाबेदार उरुग्वेको यात्रा सेमिफाइनलमै समाप्त पार्दै कोलम्बिया अब उपाधिको नजिक पुगेको छ ।
कोलम्बियाका लागि खेलको ३९औं मिनेटमा जेफर्सन लेर्माले शानदार गोल गरेर अग्रता दिलाएका थिए । उनको गोलमा कप्तान हामेस रोड्रिग्वेजले असिस्ट गरेका थिए । गोल गरेको ६ मिनेटमै कोलम्बिया १० खेलाडीमा डाउन भयो । डिफेन्डर ड्यानिएल मुनोज दोहोरो पहेंलोका साथ रातो कार्ड खाएर मैदान छाडेपछि कोलम्बिया १० खेलाडीमा डाउन भएको थियो । दोस्रो हाफभरि कोलम्बियासँग एक खेलाडी कम भए पनि उरुग्वेले गोल फर्काउन नसक्दा उरुग्वेको यात्रा सेमिफाइनलमै समाप्त हुन पुग्यो ।
यस कोपामा कोलम्बिया र उरुग्वे सबैभन्दा राम्रो लयमा रहेका टिम थिए । क्वार्टरफाइनलमा उरुग्वेले ब्राजिललाई हराएर आएको टिम थियो । ब्राजिललाई स्तब्ध पारेर आएको टिम उरुग्वेलाई कोलम्बियाले हारको चोट दियो । स्मरण रहोस्, आजको जितसँगै कोलम्बियाले आफ्नो अपराजित खेलको संख्या २८ बनाएको छ । त्यसैगरी, पछिल्ला १३ खेलमा कोलम्बियाले सबै खेल जितेर आएको छ । यस्तो गतिमा रहेको कोलम्बियाले अब कोपाको उपाधिका लागि साबिक च्याम्पियन अर्जेन्टिनाको सामना गर्नेछ ।
