रसुवामा बाढी, धुलिखेलमा सुरक्षा गोष्ठी

छिमेकी राष्ट्र चीनतर्फ अबिरल वर्षाका कारण नदीमा आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भैरहँदा धुलिखेलमा बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठी चलिरहेको छ। गृह मन्त्रालयको नियमित कार्यक्रम अन्तर्गत धुलिखेलमा सुरक्षा गोष्ठी चलिरहेको हो।

सुरक्षा गोष्ठीमा भाग लिन रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल, डिएसपी हेमबहादुर शाही र सशस्त्र प्रहरीका डिएसपी रामहरी खड्का धुलिखेलमा रहेका छन्। सुरक्षा गोष्ठीमा सहभागी हुन उनीहरू सोमबार नै काठमाडौं आएका थिए। अहिले रसुवामा निमित्त प्रमुख मात्रै रहेका छन्। विपद् परेका बेला सुरक्षा निकायमा प्रमुखहरू नै जिल्लामा नहुनुले समन्वयमा समस्या परिरहेको छ।

राति ३ बजे जिल्ला रसुवा गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीमा चीनतर्फ परेको अबिरल वर्षाका कारण आएको भीषण बाढीले ९ नेपाली, ६ चिनियाँ गरी १८ जना सम्पर्कविहीन छन्। यस्तै १ नेपाल प्रहरी, १ सशस्त्र प्रहरी बल नेपाल र ७ स्थानीय मानिस गरी ९ जनाको उद्धार गरिएको छ।

इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका मध्यको प्र.स.नि. लालबहादुर श्रेष्ठ, प्र.ज. मुन्ना ठाकुर, प्र. ज. लोकेन्द्र बोहरा बाढीले बिहान ४ बजेको समयमा नेपाल र चीन नाका जोड्ने मितेरी बगाइ पुल पूर्ण रूपमा क्षति भएको छ। जसका कारण पैदलयात्री र सवारीसाधनको आगतजावत बन्द भएको छ।

यस्तै ४ः४० बजेको समयमा जिल्ला रसुवा गोसाइकुण्ड गा.पा. वडा नं. २ स्थित रहेको ईभी चार्जिङ स्टेसनमा पनि क्षति भएको छ। बाढीले ७÷८ वटा गाडीहरू बगाएको, भन्सार कार्यालय रसुवाको यार्डमा क्षति भएको र रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी निरीक्षक कृष्णबहादुर धितालको कमाण्डमा २० जनाको प्रहरी टोली, इ.प्र.का. टिमुरे रसुवाबाट प्र.ना.नि. धनबहादुर तामाङको कमाण्डमा २८ जना, प्र.चौ. रसुवागढीबाट प्र.ब.ना.नि. सुमन महन्त गिरीको कमाण्डमा १२ जना, प्र.चौ. स्याफ्रुबेशी रसुवाबाट ८ जना, प्र.चौ. हाकु रसुवाबाट ७ जना अ.प्र.पोष्ट मैलुङ रसुवाबाट ९ जना प्र.चौ. बेत्रावतीबाट १० जनाको प्रहरी टोली गरी जम्मा ९४ जनाको टोली उद्धार कार्यका लागि खटिएका छन्।

बाढीले ७ः५० बजेको समयमा जिल्ला रसुवा गोसाइकुण्ड गा.पा. वडा नं. ५ पासाङल्हामु सडक खण्डस्थित उक्त बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरोध भएको पनि जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।