काभ्रेमा बस र ट्रक ठोक्किँदा ८ घाइते

काभ्रेको पाँचखाल नगरपालिका- ६ मा बसले ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौंबाट बाह्रबिसे जाँदै गरेको बा२ख ६५७९ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको सडक विभागको बा ५ ख ६८३ नम्बरको ट्रकलाई पाँचखाल नगरपालिका- ६ मा ठक्कर दिएको थियो।

बसले ठक्कर दिँदा ट्रक अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुर्घटनामा परी ट्रकका छ र बसका दुई यात्रु घाइते छन्। तीमध्ये ट्रकमा रहेका तीनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको हो।

प्रहरीका अनुसार ट्रकमा रहेका काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका- ६ का रेशम थापा, बेथानचोक गाउँपालिका- ४ का ४३ वर्षीय लाइतलाल तामाङ र  झापाका ५८ वर्षीय लालबहादुर राई गम्भीर घाइते छन्। त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका- १ का ५८ वर्षीय शेरबहादुर तामाङ, फुर्वा तामाङ र भक्तपुर सूर्यविनायक का ५८ वर्षीय रामचन्द्र अधिकारी सामान्य घाइते भएका छन्।

बसमा रहेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- २ का ७० वर्षीय युक्तबहादुर खत्री र  बलेफी गाउँपालिकाऔ ६ का ६६ वर्षीय गोपिलाल पराजुली सामान्य घाइते भएका छन्। घाइतेको धुलिखेलस्थित अस्पतालमा उपचार भइरहेको छ।