काठमाडौं उपत्यकामा परम्परागत रूपमा सञ्चालन हुँदै आएका देव नृत्यमध्ये नरदेवी टोलको न्यतभुलु अजिमा गण नृत्य यस वर्ष पनि भव्य रूपमा सम्पन्न भएको छ। प्रत्येक वर्ष पाहां चःह्रे पर्वको अवसरमा चिल्लागाः (चैत्रकृष्ण) त्रयोदशी र चतुर्दशीका दिन मञ्चन गरिने उक्त नृत्य यस वर्ष चैत्र ३ गते मंगलबार र ४ गते बुधबार नरदेवीको दबलीमा प्रदर्शन गरिएको हो।
परम्परा अनुसार त्रयोदशीका दिन साँझ ताम्सीपाखास्थित देवघरबाट न्यतभुलु अजिमाका देवगणलाई बाहिर निकालेर नरदेवीको दबलीसम्म ल्याई नृत्य प्रदर्शन गरिएको थियो। त्यसैगरी चतुर्दशीका दिन बिहान पुनः नृत्य प्रदर्शन गरी दिउँसो पशु बली दिने चलनअनुसार पूजाआजा सम्पन्न गरिएको आयोजकहरूले जनाएका छन्।
नृत्य अवलोकनका लागि ठूलो संख्यामा सर्वसाधारण तथा भक्तजनहरूको उपस्थिति रहेको थियो। श्रद्धालुहरूले आफ्ना गच्छे अनुसार देवदेवीको पूजा तथा दक्षिणा अर्पण गरेका थिए।
नरदेवीमा प्रस्तुत गरिने यस नृत्यमा १२ जना देवी–देवताहरूको सहभागिता रहने परम्परा छ। तीमध्ये श्वेतकाली, कुमारी, भैरव, वाराही, गणेश, महालक्ष्मी, नारायणी, इन्द्रायणी, रुद्रायणी, ब्रह्मायणी, सिंहिनी र व्याधिनी प्रमुख रूपमा समावेश छन्।
इतिहासअनुसार प्रारम्भिक समयमा यस नृत्यमा न्यत उदाय समुदायका व्यक्तिहरूले मात्र देवी–देवताको भूमिका निर्वाह गर्ने परम्परा रहेको बताइन्छ। पछि कामको व्यस्तताका कारण यो जिम्मेवारी ज्यापु समुदायलाई हस्तान्तरण गरिएको जनश्रुति छ।
नृत्य सञ्चालनमा न्यत तुलाधरहरूको विशेष भूमिका रहँदै आएको छ। मूलपूजावारीदेखि विभिन्न खलः समूहसम्म परम्परागत रूपमा तुलाधर समुदायले नेतृत्व गर्दै आएका छन्। नृत्यमा प्रयोग हुने चर्या गीत, बाजागाजा र तालमेल व्यवस्थापनमा समेत उनीहरूको सक्रिय सहभागिता रहने गरेको छ।
विशेषगरी नृत्य निर्देशन तथा ताःभुजः व्यवस्थापनका लागि चार जना जिम्मेवार व्यक्तिहरू खटिने व्यवस्था रहेको छ। नृत्य सम्पन्न भएपछि देवदेवीलाई पुनः न्यतमरु अजिमाको देवघरमा विधिपूर्वक विराजमान गराइन्छ।
सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस नृत्यले स्थानीय समुदायबीच एकता, सहकार्य र सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको स्थानीयवासीहरूले बताएका छन्।
