कार्यवाहक प्रमुख डंगोल भन्छिन्– बर्खा अघि कुमारी घरको छानो मर्मत सक्नुपर्छ

काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले बर्खा सुरु हुनु अघि बसन्तपुरस्थित कुमारी घर (कुमारी वहाल) को छानो जीर्णोद्धार सम्पन्न गर्न निर्देशन दिनुभएको छ।

अनुगमनका क्रममा उहाँले धार्मिक, सांस्कृतिक र सामाजिक गतिविधिमा असर नपर्ने गरी समयमै काम सक्न निर्माण पक्षलाई आग्रह गर्नुभयो।

अजय निर्माण सेवासँग फागुन ११ मा सम्झौता भई फागुन २५ देखि काम सुरु भएको छ। कुल १ करोड २५ लाखको लागत अनुमान गरिएको परियोजना ७१ लाख २४ हजार रुपैयाँमा ठेक्का लागेको हो।

प्राविधिक अध्ययन अनुसार छानो चुहिने, काठ मक्किने, भित्तामा चिरा पर्ने लगायत समस्या देखिएका छन्। छानो ४६४ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ र चरणबद्ध रूपमा मर्मत गरिनेछ।

समितिले पुराना सामग्रीको सम्भव भएसम्म पुनःप्रयोग गर्दै संरचनाको मौलिकता जोगाएर जीर्णोद्धार गर्न सुझाव दिएको छ।

ऐतिहासिक कुमारी घर वि.सं. १८१४ मा निर्माण गरिएको नेवारी शैलीको महत्वपूर्ण सम्पदा हो, जहाँ जीवित देवी कुमारीको निवास रहँदै आएको छ।