विद्यार्थीको आँखा स्वास्थ्य जोगाउन महानगर र नेपाल आँखा अस्पतालको सहकार्य

काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच विद्यालय उमेरका बालबालिकाको आँखा स्वास्थ्य सुधारका लागि एक महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको उपस्थितिमा भएको उक्त समझदारी पत्रमा स्वास्थ्य विभागका प्रमुख दिपककुमार के.सी. र अस्पतालका कार्यकारी अधिकृत धर्मराज गोसाईँले हस्ताक्षर गर्नुभयो।

पछिल्लो समय बालबालिकामा बढ्दो मोबाइल प्रयोगका कारण उत्पन्न हुन सक्ने दृष्टि दोषलाई समयमै पहिचान गरी उपचार गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो।

यस योजना अन्तर्गत महानगरभित्रका सामुदायिक र संस्थागत दुवै विद्यालयका करिब २० हजार विद्यार्थीहरूको आँखा परीक्षण गरिनेछ।

सम्झौता अनुसार नेपाल आँखा अस्पतालले कम्तीमा ३० वटा विद्यालयमा विशेषज्ञ चिकित्सक टोली खटाएर प्रारम्भिक उपचार, आवश्यक औषधि वितरण र दृष्टिको समस्या देखिएका विद्यार्थीहरूलाई निःशुल्क चस्मा समेत उपलब्ध गराउनुपर्ने जिम्मेवारी पाएको छ।