सुरक्षा चुनौतीका कारण PSL २०२६ दर्शकविना हुने, दीपेन्द्र आबद्ध इस्लामावाद खेल्ने

पाकिस्तान सुपर लिग (पीएसएल) को ११औँ संस्करण यस पटक दर्शकविनाको खाली रङ्गशालामा सञ्चालन हुने भएको छ।

मध्यपूर्वमा बढ्दो तनाव, सुरक्षा संवेदनशीलता र इन्धन सङ्कटलाई मध्यनजर गर्दै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले प्रतियोगितालाई कराँची र लाहोर गरी दुई सहरमा मात्र सीमित गर्ने निर्णय गरेको छ।

यसअघि ६ सहरमा गर्ने भनिएको पूर्वयोजना र लाहोरमा तय भएको भव्य उद्घाटन समारोह समेत रद्द गरिएको छ।

पीसीबी अध्यक्ष मोहसिन नकवीले वर्तमान परिस्थितिमा दर्शकको सुरक्षा नै प्राथमिकता रहेको बताउनुभएको छ।

बोर्डले टिकट काटिसकेका दर्शकलाई रकम फिर्ता गर्ने र फ्रेन्चाइज टोलीहरूको नोक्सानीको क्षतिपूर्ति दिने प्रतिबद्धता जनाएको छ।

आगामी बिहीबार मार्च २६ देखि मे ३ सम्म चल्ने यस प्रतियोगितामा पहिलो पटक आठ टोली सहभागी हुँदैछन्, जसमा नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी इस्लामाबाद युनाइटेडबाट मैदान उत्रिनेछन्।