काठमाडौं — प्रतिनिधिसभाका नव निर्वाचित सदस्यहरूको शपथ ग्रहण कार्यक्रम यही चैत १२ गते हुने भएको छ। २१ फागुनमा सम्पन्न निर्वाचनबाट निर्वाचित भएका सांसदहरूमध्ये ६ जनाले नेपाल भाषामा शपथ लिने इच्छा व्यक्त गरेका छन्।
नेपाल भाषामा शपथ लिने सांसदहरूमा अनुष्का श्रेष्ठ, रुकेश रंजित, गंगा लक्ष्मी अवाल, मदन कृष्ण श्रेष्ठ, विराजभक्त श्रेष्ठ र कुलभक्त शाक्य रहेका छन्। उनीहरूले आफ्नो मातृभाषामा शपथ लिने निर्णय गरेका हुन्।
यसअघि पनि नेपालमा मातृभाषामा शपथ लिने अभ्यास रहँदै आएको छ। २०७० सालमा ३५ जना, २०७४ सालमा ४६ जना र २०७९ सालमा २८ जना सांसदहरूले नेपाली बाहेकका भाषामा शपथ लिएका थिए।
संविधानले सांसदहरूलाई आफ्नो मातृभाषामा शपथ लिन अनुमति दिएको छ, तर त्यसका लागि आधिकारिक अनुवादको व्यवस्था गरिनुपर्ने प्रावधान रहेको छ।
