ललितपुर – विक्रम सम्वत २०२८ सालमा स्थानिय समुदायको सक्रियतामा पठन संस्कृति विकास गर्ने उद्धेश्यले स्थापना भएको ललितपुरको चन्द्रसूर्य पुस्तकालयले स्वर्ण महोत्सवको समापन कार्यक्रम आउँदो चैत २८ गते गर्ने भएको छ । पुस्तकालयले शुक्रबार कुटिसौगलमा पत्रकार सम्मेलन गरेर आफ्नो स्थापनाको ५० वर्षको अवसरमा भएका विभिन्न कार्यक्रमको समापन चैत २८ गते गर्ने जानकारी दिएको हो।
समापन कार्यक्रममा स्थापनाकालदेखि योगदान गरेका व्यक्तिहरू, आर्थिक सहयोग गरेका संस्था एवमं व्यक्ति, स्वर्ण महोत्सवको उपलक्ष्यमा भएका विभिन्न कार्यक्रमहरूका संयोजकहरू लगायतलाई सम्मान गर्ने तथा बृहत सांस्कृतिक कार्यक्रम गर्ने भनेर पुस्तकालयका अध्यक्ष राजेश चित्रकारले जानकारी दिनु भयो।
समापन कार्यक्रम भोलढोकामा रहेको ज्यापू प्रज्ञाभवनमा हुनेछ।
गएको वर्षको चैतमा स्वर्ण महोसत्वका कार्यक्रम शुरू गरेको भन्दै उहाँले पुस्तकालयले एक वर्षको अवधिभर रक्तदान, निशुल्क स्वास्थ्य शिविर, साहित्य वाचन, साइकल यात्रा, ब्याडमिन्टन प्रतियोगिता, भजन लगायतका कार्यक्रम गरेको बताउनु भयो। त्यस्तै उहाँले चन्द्रसूर्य पुस्तकालयलाई ईलाइब्रेरीको रूपमा विकास गर्ने तयारी भएको भन्नुभयो।
पत्रकार सम्मेलनमा पुस्तकालयका संस्थापक अध्यक्ष रत्नमान चित्रकार, सल्लाहकार सनप्रकाश चित्रकार, उपाध्यक्ष रूपक बाराही, सचिव राकेश श्रेष्ठ लगायतका पदाधिकारीहरूको उपस्थिति थियो।
ललितपुरमा सामुदायिकस्तर स्थापना भएका चन्द्रसूर्य पुस्तकालय लगायत अरु थुप्रै पुस्तकालयहरूको आयोजनामा ललितपुर जिल्लाव्यापी हाजिरी जवाफ प्रतियोगिता जस्ता बौद्धिक विकासका कार्यक्रमहरू हुने गरेको थियो भने पछिल्लो समयमा अरू पुस्तकालयहरूको अस्तित्व नै नभइसकेको अवस्था छ । चन्द्र सूर्य पुस्तकालय मात्र संचालनमा छ ।
यस पुस्तकालयले समयको विकासक्रमसँगसँगै शैक्षिक क्षेत्रमा मात्र नभएर सामाजिक, खेलकुद, स्वास्थ्य, धार्मिक लगायतको क्षेत्रमा पनि काम गरिरहेको छ।
