काठमाडौँ— आज वैशाख कृष्णपक्ष औंसी अर्थात् मातातीर्थ औंसी। नेपाली समाजमा मातृदेवो भवःको भावनालाई आत्मसात् गर्दै देशभर आमाको मुख हेर्ने पर्व श्रद्धापूर्वक मनाइँदैछ।
बिहानैदेखि छोराछोरीहरूले आफ्नी आमालाई मनपर्ने परिकार, मिष्ठान्न भोजन र विभिन्न उपहारहरू प्रदान गरी आशिर्वाद ग्रहण गरिरहेका छन्।
आमाप्रति कृतज्ञता प्रकट गरिने यो पर्वमा जीवित आमालाई सम्मान गर्ने र दिवंगत आमाको स्मरणमा तर्पण दिने धार्मिक एवं सांस्कृतिक परम्परा रहेको छ।
यसै अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थ कुण्डमा बिहानैदेखि दर्शनार्थीहरूको ठूलो भीड लागेको छ।
आमा नहुनेहरूले उक्त पवित्र कुण्डमा स्नान गरी दिवंगत आमाको नाममा पिण्डदान र तर्पण अर्पण गरिरहेका छन्।
मातातीर्थ कुण्डमा आजको दिन श्रद्धापूर्वक स्नान र तर्पण गर्दा मातृ ऋणबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ।
