झन्डै एक महिना लामो भीषण युद्धपछि इजरायल र लेबनानबीच १० दिने युद्धविराम लागू भएको छ ।
अमेरिकी मध्यस्थतामा भएको यस सम्झौतापछि दुवै देशका नागरिकले राहतको महसुस गरेका छन् ।
दक्षिण लेबनानबाट विस्थापित भएका हजारौँ मानिसहरू आफ्नो घरतर्फ फर्किन थालेका छन् भने सडकमा नाचगान गर्दै खुसीयाली मनाइएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यसलाई ‘ऐतिहासिक शान्तिको अवसर’ भन्नुभएको छ भने लेबनानी राष्ट्रपति जोसेफ खलील औनले पनि सम्झौताको स्वागत गर्नुभएको छ ।
यद्यपि, हिजबुल्लाहले लेबनानको सबै क्षेत्रमा आक्रमण रोकिनुपर्ने र इजरायली सेना पूर्ण रूपमा फिर्ता हुनुपर्ने सर्त राखेको छ ।
इजरायलले १० किलोमिटर क्षेत्रलाई अझै सुरक्षा घेरामा राख्ने बताएकाले यो युद्धविराम कति स्थायी हुन्छ भन्नेमा विश्लेषकहरूले आशङ्का व्यक्त गरेका छन् ।
