काठमाडौँ महानगरको नयाँ अभियान: भोलिदेखि असनमा सवारी निषेध र ‘वाटर एटीएम’ सेवा सुरु

काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले भोलिदेखि असन क्षेत्रमा ‘जीवन्त र समृद्ध असन’ कार्यक्रम सुरु गर्ने भएको छ। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार मानवीय चाप र सवारी साधनको भीडभाडका कारण भित्री सहरमा उत्पन्न चुनौतीलाई मध्यनजर गर्दै यो नयाँ पहल थालिएको हो। यस कार्यक्रमअन्तर्गत असन क्षेत्रमा परम्परागत ज्ञान, सीपको प्रदर्शनीका साथै स्थानीय कला, सङ्गीत र नृत्यका विभिन्न प्रस्तुतिहरू प्रदर्शन गरिनेछन्।

नयाँ व्यवस्था अनुसार अबदेखि हरेक शनिबार असन क्षेत्रमा सवारी साधनको प्रवेश पूर्ण रूपमा रोक लगाइनेछ। यो कदमले असनको ऐतिहासिक मौलिकता जोगाउन, वायु प्रदूषण घटाउन र स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्न मद्दत पुग्ने विश्वास महानगरले लिएको छ। यसै अवसरमा महानगरले भोलिदेखि नै विभिन्न स्थानमा निःशुल्क ‘वाटर एटीएम’ सेवा पनि शुभारम्भ गर्दैछ। करिब २ करोड ६० लाख रुपैयाँको लागतमा निर्माण गरिएका ८ वटा वाटर एटीएम बुथहरूले सर्वसाधारणलाई शुद्ध खानेपानी उपलब्ध गराउनेछन्। मौलिक शैलीमा बनाइएका ३ हजार लिटर क्षमताका यी बुथहरू खुलामञ्च, राष्ट्रिय सभागृह, दरबार हाई स्कूल र हाँडीगाउँ लगायतका प्रमुख स्थानहरूमा जडान गरिएका छन्।