भक्तपुरमा बिस्काः जात्रा आजदेखि

भक्तपुर –  भक्तपुरमा आजदेखि बिस्का अर्थात बिस्केट जात्रा सुरु हुँदैछ । तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व रहेको बिस्का जात्रा भक्तपुर नगरपालिका वडा नम्बर ५ टौमढीमा रहेको ङातापोल तथा भैरवनाथको मन्दिर परिसरमा निर्माण गरिएको भैरवनाथको रथ तानेर सुरु गरिन्छ ।
सूर्यमासअनुसार नयाँ वर्ष सुरु हुनु चार दिनअघि परम्परागत तान्त्रिक विधिअनुसार मनाइने बिस्का जात्रा सुरु हुन्छ । प्यागोडा शैलीमा बनाइएको तीन तले भैरवनाथको रथ तानेर बिस्का जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ ।
अहिले भैरवनाथको रथसँगै भद्रकालीको रथ सिंगार्ने काम भइरहेको गुठी संस्थान भक्तपुरले जनाएको छ । भैरवनाथको रथ तान्नुअघि रथको अगाडि बेताल विराजमान गराइन्छ ।
त्यस्तै मन्दिरमा रहेको भैरवनाथलाई बाजागाजाको सवारीसहित रथमा विराजमान गराइन्छ । यो कार्य सकिएपछि विधिवत रुपमा रथ तानिन्छ । भैरवनाथको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ गते विधिवत सम्पन्न गरिन्छ । अन्तिम दिन भैरवनाथको रथलाई तानेर पाँंचतले मन्दिर अगाडि पुर्‍याएपछि बिस्का जात्रा सम्पन्न हुन्छ ।
बिस्का जात्राअन्तर्गत चैत मसान्तको दिन भक्तपुर नगरपालिका वडा नम्बर ५ मा रहेको योसिङखेलमा ५५ हात लामो योसिं ठड्याइन्छ । यो योसिं सूर्यमासअनुसार नयाँ वर्षको पहिलो दिन ढालिन्छ ।
यस्तै, बिस्का जात्रा शान्तिपूर्ण बनाल्उन सद्भाव र्‍याली गरिएको थियो ।