काठमाण्डाै – तिहार अन्तर्गत आज गाेवर्द्धन पूजा हुँदैछ । आज गोरु, किसान र हलोको पूजा गर्ने गरिन्छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गाेवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गाेवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गाेवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउनुहुन्छ ।
कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गाेवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। भगवान विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मर्त्त्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ ।
यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो । यस्तै, वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठामीठा परिकार खुवाइन्छ ।
यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ । त्यस्तै आज नेवार समुदायमा म्ह (आत्म) पूजासमेत गरिन्छ। कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म (म्ह) पूजा पर्व मनाउने गर्दछन्।
यस वर्ष सोमबार र मङ्गलबार दुई दिन प्रतिपदा तिथि परेको छ। भक्तपुरलगायत केही स्थानमा भने हिजो सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ। भक्तपुरमा आत्मपूजा पनि हिजो नै गरिएको जनाइएको छ। भक्तपुर नगरपालिकाको निर्णयअनुसार यसो गरिएको हो। देशभरका धेरै नेवार समुदायले भने आज मङ्गलबार नेपाल संवत्को नयाँ वर्ष र म्ह (आत्म) पूजा गर्दैछन्।
