नरदेवीको श्वेतकाली अजिमाको १२ वर्षे देवीनाच कीर्तिपुरमा

काठमाण्डौं – नरदेवीको श्वेतकाली अजिमाको १२ वर्षे देवीनाच हिजोदेखि कीर्तिपुरमा प्रदर्शन सुरु भएको छ । ललितपुरको मंगलबजारमा बुधवार र विहीबार दुईदिन प्रदर्शन गरेर हिजो १२ वर्षे देवीनाच कीर्तिपुर लगिएको थियो ।

१२ वर्षे देवीनाच समारोह समितिका अनुसार हिजो बेलुका ५ बजे ललितपुरबाट प्रस्थान गरेर ८ बजे कीर्तिपुरको दरबार क्षेत्रमा देवगणले प्रवेश गरेपछि नाच प्रारम्भ गरेर राती १ बजेसम्म लाय्कु डबलीमा पहिलो चरणको नाच प्रदर्शन गरिएको थियोे । आज पनि विहान ६ बजेदेखि नै नाच प्रदर्शन गरिएको छ । भोलि विहान क्षमा पुजासहित समापन गरेर दिउँसो १ बजे नरदेवीमा नै देवगणहरुलाई फर्काइने समितिले जनाएको छ ।

देवी नाचमा भैरब, कुमारी, शिव, श्वेतकाली, बाराही, व्याङगिनी, महालक्ष्मी, ब्रम्हायणी, रुद्रायणी, इन्द्रायणी, नारायणी, सिङ्गीनी देवगण हुन्छन् ।

२०७८ चैत १४ गतेदेखि श्वेतकाली अजिमाको १२ वर्षे देवीनाच शुरु भएको हो भने १२ वर्षे नाचलाई काठमाण्डौं उपत्यकाका विभिन्न १२ ठाँउमा प्रदर्शन गर्नु पर्ने प्रचलन अनुसार ललितपुर र किर्तिपूरमा नाच देखाइएको हो ।