रूपा सुनारमाथि जातीय विभेद गरेको मुद्दामा घरबेटी प्रधानले पाइन् सफाइ

काठमाडौँ – जिल्ला अदालत काठमाडौँले सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारमाथि  जातीय विभेद गरेको मुद्दामा  विपक्षी काठमाडौंको बबरमहल बस्ने घरबेटी सरस्वती प्रधानलाई सफाइ दिएको छ। काठमाडौं जिल्ला अदालतकी न्यायाधीश सकुन्तला कार्कीको एकल इजलासले शुक्रबार सकुन्तलामाथि लगाइएको आरोपमा दाबी नपुग्ने भन्दै सफाइ दिएको हो।

२०७८ सालमा सामाजिक सञ्जाल नै तताउने गरी सार्वजनिक भएको उक्त घटनापछि त्यसबेलाका मन्त्री कृष्णगोपाल श्रेष्ठसमेत विवादमा तानिएका थिए। यो प्रकरणमा प्रधानविरुद्ध परेको मुद्दामा २०७८ असोजमा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले सरस्वतीलाई १ लाख १५ हजार धरौटीमा छाड्ने आदेश दिएको थियो।

२०७८ गत असार १ मा कोठा हेर्न गएकी सुनारले आफू कामीकी छोरी भएको बताएपछि प्रधानले कोठा दिन अस्वीकार गरेको आरोप लागेको थियो। आफूमाथि जातीय विभेद भएको भन्दै सुनारले प्रधानविरूद्ध प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएकी थिइन्। प्रहरीले घरबेटी प्रधानलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।

घरबेटी प्रधानले पनि सुनारविरूद्ध बेइज्जतीको मुद्दा हालेकी थिइन्। उक्त मुद्दा पनि न्यायाधीश कार्कीकै इजलासमै परेको थियो। त्यसमा सुनारविरूद्धको मुद्दामा पनि दाबी नपुग्ने भन्दै सफाइ दिएको छ।