‘ए’ डिभिजन लिग : नवप्रवेशी चर्च ब्वाइजको विजयी यात्रा कायमै

आशिष चौधरीको गोलमा नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले शुक्रबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हिमालयन शेर्पा क्लबलाई १–० ले हराएको छ । चर्च ब्वाइजको यो लगातार तेस्रो जित हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आशिषले २०औँ मिनेटमा गरेको गोल चर्च ब्वाइजका लागि निर्णायक बन्यो । आशिषले एरिक विष्टको लामो पासलाई नियन्त्रणमा लिएर तीन रक्षकको बीचबाट गोल गरेका थिए ।

पाँचौ मिनेटमा चर्च ब्वाइजका एरिकको प्रहारलाई हिमालयनका रक्षक अमित श्रेष्ठले गोललाइन नजिकैबाट क्लियर गरेका थिए । लगत्तै चर्च ब्वाइजकै आशिष चापागाईको हेडिङ प्रहार पोस्टमाथिबाट बाहिरिएको थियो ।

३७औँ मिनेटमा हिमालयनका शत्यम शर्माको फ्रिकिक टप बारमा लागेर बाहिरिएको थियो । ६५औँ मिनेटमा चर्च ब्वाइजका आशिष वान भर्सेस वानमा गोल गर्न चुके । उनको प्रहार हिमालयनका गोलकिपर विश्वास चौधरीले बचाइदिएका थिए ।

जितसँगै तीन खेलबाट नौ अंक जोडेको चर्च ब्वाइज शीर्ष स्थानमा छ । चर्च ब्वाइजले यसअघिका दुई खेलमा नेपाल पुलिस क्लबलाई २–१ र खुमलटारलाई ३–१ ले हराएको थियो ।

जारी सिजन हिमालयनको यो पहिलो हार हो । हिमालयनले तीन खेलमा चार अंक जोडेको छ । हिमालयन शेर्पाले पहिलो खेलमा मनाङ–मर्स्याङ्दीसँग १–१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा पुलिसलाई १–० ले हराएको थियो । हिमालयन शेर्पा सातौँ स्थानमा छ ।

आजै पहिलो खेलमा थ्री स्टारले पहिलो जित दर्ता गर्नेक्रममा खुमलटार युथ क्लबलाई २–० ले हराएको थियो । जितपछि तीन खेलबाट चार अंक जोडेको थ्री स्टार छैटौँ स्थानमा छ । नवप्रवेशी खुमलटार भने तीन अंकका साथ नवौँ स्थानमा छ ।