बल्खुमा दुर्घटना, अध्यागमनका अधिकृतको निधन

काठमाडौं  – काठमाडौं बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। आइतबार दिउँसो  बल्खु चोकमा मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको हाे ।

सानेपाबाट कलंकीतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख १७१५ नम्बरको १२ चक्के मालवाहक गाडीले सोही दिशा जाँदै गरेको बा अअ ९८३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

अर्घाखाँची छत्रदेव गाउँपालिका-५ चन्द्रागिरि नगरपालिका-१२ सतुंगल बस्ने ३८ वर्षीय भूपति पाण्डेको मृत्यु भएको प्रहरीले जनाएकाे छ। पाण्डे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन विभागको कार्यालयमा कार्यरत शाखा अधिकृत थिए।

ठक्कर पछि गम्भीर घाइते भएका पाण्डेलाई नजिकैको वयोधा अस्पतालमा लगिएकाे थियाे ।