राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरुका तीनैजना उमेदवार आगामी उपनिर्वाचनमा विजयी हुने बताएका छन् ।
लामिछानेले आफूसहित बाँकी दुईजना उमेदवारहरु स्वर्णिम वाग्ले र रमेश खरेललाई दायाँबायाँ राखेर गरेको पत्रकार सम्मेलनमा भने, “स्वर्णिम वाग्ले र रमेश खरेल राजनीतिक रोटी सेक्न आउनुभएको होइन । उहाँहरुले कमाउनुपर्ने सबै कमाउनुभएको छ । समाजका लागि दिन आउनुभएको छ । समाजले हामीलाई गुन लगाएको छ त्यो गुन तिर्छु भनेर आउनुभएको छ । संसद्मा गरिमामय उपस्थिति हाम्रो हुनेछ । तीनैभाइ विजय हुनेछौं ।”.
यसै बिच बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट उमेदवार बन्न लागेका रमेश खरेलले राजनीतिक सिन्डिकेटतन्त्रविरुद्ध सबै एक हुनुको विकल्प नरहेको बताएका छन् । शनिबार काठमाडौंको वसुन्धरास्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उनले सरकारको भागबन्डा र लुछाचुँडीको अन्त्य गर्न आफूहरू एक ठाउँमा उभिनुपरेको जिकिर गरे । देशमा सुशासन नभएसम्म विकासमा उल्लेखनीय प्रगति हासिल नहुने उनले बताए । आफूहरूमा अलमलिने छुट नरहेको उनको भनाइ छ ।
