भक्तपुरको प्रसिद्ध बिस्काः जात्राको प्रमुख जात्रा मानिने यःसि आज बेलुकी ढालेिएको छ । तान्त्रिक विधिअनुरूप पूजाअर्चना गरी आज बेलुकी यःसि ढालिएको हो ।
बिस्काः जात्राको चौथो दिन चैत ३० गते हिजो झन्डै पौने चार घण्टाको प्रयासपछि राति ७ बजेर ४० मिनेटमा भेलुखेलकाे यःसिखेलमा यःसिं ठड्याइएको थियो ।
५५ हात लामो यःसि तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी आज एक घण्टाको प्रयासपछि ढालिएको थियो । यःसि ठड्याउनुअघि यःसिको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतिकस्वरूप दुई वटा विश्व ध्वजा बाँधेर अष्टमातृकाका प्रतीक आठ वटा डोरीले तानेर ठड्याइने प्रचलन छ । त्यही आठ वटा डोरीले आठ कुनामा बसेर यःसिं ढालिएको थियो ।

यःसिको कोखामा झुन्ड्याइएका दुई वटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाशभैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्ध बिस्काः जात्रामा यःसिं हेर्नाले सुख, समृद्धि,सहकाल आउनुका साथै शत्रु नाश हन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको इतिहास तथा संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउनुहुन्छ ।
यःसिं उभ्याइने र ढाल्ने जात्रा नै बिस्काःको प्रमुख विशेषता हो । मल्ल राजाले भैरवनाथ र भद्रकालीको रथ जात्रा समावेश गरी तान्त्रिक पूजाविधि विधानसमेत थप गरी आठ रात नौ दिनसम्म जात्रा मनाउने प्रचलन थालिएको बताइन्छ ।
यःसिं ढालेपछि यःसिखेलबाट भैरवनाथको रथ गःहिटीमा ल्याएर भैरवनाथ र भद्रकालीको रथ जुधाइएको छ । यसलाई स्थानीय भाषामा द्यः ल्वाकिगु भनिन्छ । जात्रामा रथ जुधाउनुअघि बेताल देवतालाई गःहिटीमा ल्याएपछि झ्यालबाट कुखुरा दिई बली चढाएर रथ जुधाउने परम्परा रहेको छ ।
भैरवनाथ र भद्रकालीको रथ जुधाउने जात्रा सम्पन्न भएपछि ती दुवै देवदेवीको पूजा गरिने परम्परा छ ।
