अमेरिकामा पनि नेपालमा झै बिस्काः जात्रा मनाइयो

अमेरिकाको भर्जिनिया राज्यमा भव्यताकासाथ नेपालमा झै बिस्काः जात्रा मनाइएको छ। ल्याम्ह अमेरिका गुठीको आयोजनामा वाशिंगटन डिसी नजिक रहेको भर्जिनिया राज्यको स्टर्लिंग सहरको क्लाउड मूर पार्कमा शनिवार नेपालमा जस्तै बिस्काः जात्रा भव्यताका साथ मनाइएको हो।

भर्जिनियामा बिस्काः जात्रा गएको वर्षदेखि मात्र मनाउन सुरू गरेको हो।  यसपाली भने विस्काः जात्रा रथ यात्रा र सिन्दूर जात्राका साथै नेवार समुदायको मौलिक धिमेबाजा, समयबजि लगायत विभिन्न सांस्कृतिक कार्यक्रम र बच्चाहरूको लागि विशेष कार्यक्रम गरेर मनाएको हो।

अमेरिकामा सामुदायिक रूपमा बिस्काः जात्रा मनाएको संभवत यो पहिलो पटक हो।

कार्यक्रम स्थानीय समय अनुसार दिउँसो ३ बजे सुरू भएर बेलुकी ७ बजे सम्पन्न भएको थियो। जात्रामा डिसी मेट्रो एरियामा बसोबास गर्दै आएका नेवार समुदाय तथा अन्य नेपाली समुदायको बाक्लो उपस्थिति थियो। परम्परागत पहिरनका नेवारहरुले रथ बोक्दै, धिमेको तालमा नाच्दै, सिन्दूर छरेर वातावरण जात्रामय भएको थियो ।

विश्वको कुना काप्चामा बसोबास गर्दै आएको नेवारहरूले आफ्नो भाषा, सांस्कृतिक संम्पदाको संरक्षण र प्रवर्द्धन गर्नुका साथसाथै सिंगो नेपाललाई नै विश्वभर चिनाउन वर्षभरि नै विश्वको विभिन्न देशहरूको विभिन्न शहरमा यस्ता कार्यक्रमहरूको आयोजना गर्दै आएको छ।