काठमाडौं – कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ ।
गएकाे वैशाख १ गते मोटरसाइकल दुर्घटनामा परि घाइते हुनुभएका वडाध्यक्ष अधिकारीको काठमाण्डाैकाे अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा आज आइतवार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो।
कीर्तिपुरको चम्पादेवी मन्दिरमा वैशाख १ गते मेला लाग्छ । मेला व्यवस्थापन तथा सरसफाइका लागि वडाध्यक्ष अधिकारी त्यहाँ पुग्नुभएको थियो । मेलामै रहेका बेला वडाध्यक्ष अधिकारीको खुट्टा बाँउडिएपछि उहाँका साथी मनोज बुढाथोकीले मोटरसाइकलमा राखेर घर लैँजादै गर्दा बिहान पौने १० बजेतिर मोटरसाइकल दुर्घटना भएको हो । ब्रेक नलागेपछि अनियन्त्रित भएर मोटरसाइकल ढुङ्गामा ठोकिँदा दुवै जना घाइते भएका प्रहरीले जनाएको छ।
अधिकारी गएको पालिका चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो।
