तोकिएकोभन्दा महँगोमा ग्यास बेचे लाइसेन्स खारेज गर्ने नेपाल ग्यासको चेतावनी

काठमाडौं । नेपाल ग्यास उद्योग प्रालिले तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री गर्ने अधिकृत बिक्रेताको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ।

बजारमा नेपाल ग्यासको एक सिलिन्डरका लागि २ हजार ८ सयदेखि ३ हजार रुपैयाँसम्म असुल भइरहेको भन्दै उपभोक्ताबाट गुनासो बढेपछि कम्पनीले सूचना जारी गर्दै निर्धारित मूल्यमा मात्रै ग्यास बिक्री गर्न निर्देशन दिएको हो।

नेपाल ग्यासका अनुसार हालको परिस्थितिलाई मध्यनजर गर्दै ग्यासको मूल्य २ हजार ६० रुपैयाँ र गाडी भाडा १ सय ५ रुपैयाँ ३८ पैसा गरी प्रति सिलिन्डर जम्मा २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा तोकिएको छ।

कम्पनीले तोकिएको मूल्यभन्दा बढी रकम लिई ग्यास बिक्री गरेको प्रमाण भेटिएमा सम्बन्धित अधिकृत बिक्रेताको लाइसेन्ससमेत खारेज गर्न सकिने जनाएको छ।

नेपाल ग्यासले सबै अधिकृत बिक्रेतालाई तोकिएको मूल्यमा नै ग्यास बिक्री–वितरण गर्न निर्देशन दिएको छ।