एसिसी प्रिमियर कप: ओमानलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ– एसिसी मेन्स प्रिमियर कपमा नेपाल फाइनल प्रवेश गरेको छ।

बिहीबार भएको सेमिफाइनलमा नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। अब नेपालले उपाधिका लागि युएइको सामना गर्ने छ। युएइलाई फाइनलमा हराउन सके नेपाल एसियाकपमा छनोट हुने छ।

ओमान विरुद्धको सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १ सय ४८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। तर जवाफमा ओमान २८ ओभरमा ६० रन जोड्दा अलआउट हुन पुगेपछि नेपालले प्रभावशाली जीत निकालेको हो।

नेपालको जितमा दीपेन्द्र सिंह ऐरीले अलराउन्डर प्रदर्शन गर्दै म्यान अफ द म्याच घोषित भए। उनले ३ विकेट लिएका थिए। त्यस्तै सन्दीप लामिछानेले पनि ३ विकेट लिए।

ललित राजवंशी र रोहित कुमार पौडेलले २-२ विकेट लिएका थिए भने ओमानका लागि जतिन्दर सिंहले २५ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक जितेन रमानन्दीले १३ रन बनाएका थिए।

त्यसअघि मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा अलआउट हुँदै १ सय ४७ रनमा समेटियो।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीलाई ५१ रनको अर्धशतकीय इनिङ खेल्नु सर्वाधिक रनका रुपमा रह्यो। उनी बाहेक बसीर अहमदले ४७ रन बनाए। अन्य कुनैपनि शीर्ष क्रमले गतिलो प्रदर्शन गर्न सकेनन्। थप दोहोरो स्कोरका रुपमा देव खनालले १३ रन बनाउँदा आसिफ शेखले ११ रन बनाए।

एकसमय नेपालले ३६ रन जोड्दा ४ विकेट गुमाएको थियो। तर बसीर र दीपेन्द्रले पाचौं विकेटका लागि ९३ रनको साझेदारी गरेपछि टोली केही समालियो।

ओमानका लागि जय भिरन ओडेडारा र हसनाइन साहले ३-३ विकेट लिंदा मुहम्मद इमरानले २ तथा मुजीवुर अली र मुजीबुर अलीले १-१ विकेट लिए।