काठमाडौं । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यले काठमाडौंमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के अन्तर्गतका लायन्स क्लबहरूले सञ्चालन गर्दै आएको वातावरण संरक्षण अभियानलाई निरन्तरता दिँदै ‘भविष्यसहित सांस्कृतिक परम्परा’ भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गरिएको हो।
लायन्स वर्ष २०२३/२४ देखि सुरु भएको पहललाई निरन्तरता दिँदै विभिन्न पक्षसँगको छलफल र सहकार्यपछि प्रकृति संरक्षण तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई एकसाथ अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
लायन्स क्लब अफ काठमाडौं कोर सिटी र ‘सेभ द कल्चर एन्ड ट्राडिसन’को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा श्री लिङ्गुंगा गुठी सामुदायिक उपभोक्ता समूह, श्री शार्दूल जंग गुल्म (गुरुजुको पल्टन), श्री इन्द्रजात्रा व्यवस्थापन समिति, अनुप नेपाल तथा सुदन मानन्धरलगायतको सहकार्य रहेको थियो।
कार्यक्रममा विभिन्न जातका २५० वटा बिरुवा रोपिएको आयोजकले जनाएको छ। रोपिएका बिरुवाले आगामी दिनमा स्वच्छ वातावरण, हरियाली विस्तार तथा वातावरणीय सन्तुलन कायम गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रममा प्रकृति संरक्षणसँगै नेपाली मौलिक संस्कृति, परम्परा तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई पनि समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिइएको थियो। यसका लागि विभिन्न संघसंस्था, समुदाय तथा नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको आयोजकको भनाइ छ।
अभियानलाई सफल बनाउन सहयोग, सहकार्य तथा सहभागिता जनाउने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आयोजकले आभार व्यक्त गरेको छ।
