एसिसी मेन्स प्रिमियर कपमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले हराएको छ। मलेसियाले दिएको १०४ रनको लक्ष्य पाएको नेपालले २१.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। नेपालका अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाए। उनले ६८ बलमा ४५ रन बनाएका हुन्।
इसान पाण्डेले २९ बलमा २०, दीपेन्द्रसिंह ऐरीले ११ बलमा १२, रोहित पौडेलले १६ बलमा १०, देव खनालले ७ बलमा २ रनको योगदान दिए।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३२.३ ओभरमा सबै विकेट गुमाएर १ सय ३ रन बनाउँदै अलआउट भएको थियो। मलेसियाका लागि कप्तान सायिद अजिजले ३० रन, अकिल वाहिदले २४ रन, भिरानदीप सिंहले १४ रन र स्याहादत रामिलले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका अनुभवी वलर करण केसीले राम्रो सुरुवात दिलाए। उनले ७.३ ओभरमा २ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिए। ललित राजवंशीले २ तथा हेमन्त धामी, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान १ विकेट झारे।
यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई हराएको थियो। यो नेपालको लगातार दोस्रो जित हो।
