रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिदै

ललितपुर- रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिदैछ । दिउँसो ४ बजेतिर रथ तान्ने तयारी भएको छ ।

आज रथ तान्नको लागि हिजो बेलुकी रथको टुप्पोबाट नरीवल खसालिएको थियो । रथको टुप्पोबाट दुई पल्ट नरीवल खसाल्ने परम्परा छ ।

रथलाई आजै जावलाखेल ल्याउन सके आउँदो विहिबार भोटो जात्रा हुनेछ । लगनखेलमा रहेको रथलाई जवलाखेलमा पुयाइएको चार दिनमा भोटो देखाउने परम्परा छ । भोटो जात्रा पछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टंगल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि बैशाख २८ गते ज्योतिषहरुले आजको साइत निकालेका थिए ।