काठमाडौं – उदाय् समाजले आफ्नो समुदायभित्रका जेष्ठ नागरिकलाई संयुक्त रूपमा अभिनन्दन गरेको छ। नयाँ बजारमा शनिवार भएको कार्यक्रममा उदाय् समाजमा समाविष्ट १० वटा समूहका २९० जना जेष्ठ नागरिकको अभिनन्दन गरिएको हो।


कार्यक्रममा समाजका अध्यक्ष डा. रुपज्योति कसाः, प्रमोदमान सिंह बनिया, शान्तमुनि ताम्राकार डा. ज्ञानेन्द्ररत्न तुलाधर लगायतले पुरूष जेष्ठ नागरिकलाई टाउकोमा बेतालीले बाँधेर सम्मान प्रकट गर्नु भएको थियो। त्यस्तै समाजको महिला सदस्य रत्न कमल कंसाकार लगायतको समूहले महिला जेष्ठ नागरिकलाई रातो फूल सिउराएर सम्मान प्रकट गर्नु भएको थियो।


कार्यक्रममा जेष्ठ नागरिकहरूलाई नेवाः परम्पराअनुसार सगुन दिइएको थियो भने सगुन दिनु भन्दाअघि प्रचार प्रसार समितिका सचिव भवानी तुलाधर लगायातले पुजा गरेर कार्यक्रमको शुरूवात गर्नु भएको थियो। अभिनन्दन गर्ने क्रममा जेष्ठ नागरिकहरूलाई पित्तलको दियो सहित सम्मानपत्र प्रदान गरिएको थियो।



काठमाण्डौंको परम्परागत टोल जस्तै असनको तुलाधर, नरदेवीको तुलाधर, केलटोलको कंसाकार, यतखाको सिन्दुराकार, मरु महाबूको ताम्राकार, इतुंबहालको बनियाँ, तेबहालको सिखाकार, बलाछि प्यंगःथांको सेलालिक, कुसुमबियालाछिको शिलाकार, भिमसेनस्थान, मखन, लगन र भेडासिहंको स्थापित समुदायभित्रका जेष्ठ नागरिकलाई अभिनन्दन गरिएको थियो।


