आज मच्छिन्द्रनाथ र मीननाथलाई चामलको भात चढाईँदै, भोटो जात्रा भोलि

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथलाई आज भात चढाएर विशेष पुजा गरिदैेछ। हरेक वर्ष भोटो जात्राको एकदिन अगाडि मलेकु गुथियारले मच्छिन्द्रनाथलाई भात चढाएर विशेष पुजा गर्ने गर्दछ।

पुल्चोकको पाटीमा आठ पाथी चामलको भात पकाएर मच्छिन्द्रनाथ र मीननाथलाई चढाएपछि रथबाट चारै दिशामा फर्केर छर्किने गरिन्छ। नेपालभाषामा जा भनेको भात र व्हला भनेर छर्किने हो। त्यसरी भात छर्किने ठाँउ भएकोले जावलाखेलको नाम रहन गएको मान्यता छ।

अहिले जावलाखेलमा रातो मच्छिन्द्रनाथ र मीननाथको दर्शन गर्न भक्तजनको घुईंचो लागेको छ।

भोटो जात्रा भोली हुँदैछ। भोली दिउँसोे रातो मच्छिन्द्रनाथको भोटो जात्रा पछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टंगल लगिनेछ ।

गएको बैशाख ११ गते पुल्चोकबाट रथ तानेर शुरु भएको यसवर्षको रातो मच्छिन्द्रनाथको रथजात्रा भोटो जात्रासँगै भोली सकिनेछ ।