काठमाडौँ – काठमाडौँको पचली भैरवको १२ वर्षे जात्रा, खड्गसिद्धि जात्रा यस वर्ष परेको छ । पचली भैरवको जात्रा हरेक वर्ष दशैको पंचमीका दिन हुने गर्छ भने १२ वर्षमा खड्गसिद्धि गरेर थप जात्रा मनाउने गरिन्छ।
१२ वर्षे जात्रा खड्गसिद्धि जात्राको लागि विहिबार विहान सुपारी दाम चढाएर शुरूवाती विधि सम्पन्न गरिएको छ। जात्राको लागि श्रावण कृष्ण एकादशी ( कामिका एकादशी) का दिन हनुमानढोकामा रहेको राजखड्गमा सुपारी दाम (ग्वय् दाँ) चढाउने परम्परा छ। राजखड्गमा सुपारी दाम चढाउनका लागि बिहिबार विहान ज्याबहालमा रहेको द्यःछेँमा गुथियार, स्थानीय प्रतिनिधि, भक्तजन लगायत जम्मा भएर बाजागाजा सहित हनुमानढोका गएका थिए।

खड्गसिद्दि जात्रामा राजतन्त्रात्मक राज्य व्यवस्था हुन्जेल राजाले पचली भैरवसँग खड्ग साट्ने चलन थियो। यसले गदा राजाको शक्ति बढ्छ भन्ने गरिन्थ्यो ।तर नेपाल गणातन्त्रात्मक देश भइसकेपछि २०६८ सालको १२ खड्गसिद्दि जात्रामा प्रतिकात्मक रूपमा मात्र खड्ग साटिएको थियो । यसपाली पनि यसैगरी जात्रा सम्पन्न गरिने गुरू तथा खड्गजात्रा समितिका सचिव भरत मालीले बताउनु भयो।
आउँदो कार्तिक २ गते पंचमीका दिन पचली भैरवको हरेक वर्षमा हुने नियमित जात्रा हुनेछ भने कार्तिक ७ गते विजया दशमीका दिन खड्गसिद्धि जात्रा हुनेछ। धार्मिक मान्यता अनुसार भैरव राष्ट्र रक्षक हुन् । त्यसैले भैरवलाई देशको रक्षाका लागि क्षेत्रपालको रूपमा राखिने गर्छ । लिच्छविकालीन राजा गुणकाम देवले पनि कान्तिपुर नगर बसाउँदा राष्ट्रको रक्षाको लागि अष्टमातृकासँगै कान्तिपुर नगरको दक्षिण भेग (हालको टेकु)मा क्षेत्रपालको रूपमा पचली भैरवलाई स्थापना गरेको विभिन्न वंशावलीमा उल्लेख छ।
