सिनामंगलमा भेटिएको वस्तु बम नभएको पुष्टि, एकजना पक्राउ

काठमाडौँ – काठमाडौँको सिनामंगलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त वस्तुलाई निष्क्रिय पारेको हो ।

खोटाङ हलेसी ज्वेलर्स अगाडि देखिएको उक्त शंकास्पद वस्तु बम नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए। उक्त वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो।

यसैबीच, रकम माग्दै शंकास्पद वस्तु राख्ने काममा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।  सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो । पासवानलाई अहिले गौशाला प्रहरीमा राखिएको छ ।

सुन पसल सञ्चालक मने विश्वकर्माले पासवानले आफूसँग पटकपटक फोन गरेर ५ लाख नदिए बम राख्छु भनेर धम्की दिएको बताएपछि प्रहरीले निजलाई पक्राउ गरेको हो ।

प्रहरीले यसबारेमा थप अनुसन्धान गरिरहेको छ ।