काठमाण्डौ – नेपालका ख्याती प्राप्त सरोदवादक पं. सुदर्शन राजोपाध्याय्लाई भारतको बनारस हिन्दु विश्वविद्यालयमा हुने कार्यक्रममा आयोजक संस्थाले विशेष अतिथिको रुपमा आमन्त्रित गरेको छ। ताथै डान्स एकेडेमीको आयोजनामा बनारस हिन्दु विश्वविद्यालयमा जुलाई २९ र ३० मा काशीधाम अन्तर्राष्ट्रिय नृत्य, संगीत प्रतियोगिता हुन लागेकोमा राजोपाध्याय्लाई विशेष अतिथिको रूपमा आमन्त्रण गरेको हो।
विशेष अतिथिका साथै राजोपाध्याय्लाई कार्यक्रममा निर्णायक मण्डलमा समेत राखिने भएको छ। राजोपाध्याय् सहित निर्णायक मण्डलमा पाँच जना छनोट भएका छन् । उहाँलाई विगत लामो समयदेखि संगीत क्षेत्रमा रहेर नेपालमा मात्र नभएर भारतमा समेत ख्याती कमाउनु भएका कारण निर्णायक मण्डलमा छनौट गरिएको आयोजक संस्थाले जनाएको छ।
राजोपाध्याय्लाई भारतको एन आर बि फाउण्डेशन एवं भब्या इन्टरनेशनलको अयोजना राजस्थानमा भएको अन्तराष्ट्रिय मैत्री सम्मेलनको अवसरमा विविधता मे एकता राष्ट्रिय सम्मान २०२० बाट सम्मान गरिएको छ भने राजस्थानको जगतपुरामा रहेको सुरेश ज्ञान विहार विश्वविद्यालयमा भएको अन्तर्राष्टिय मैत्री सम्मेलनमा इन्टरनेशनल इन्डियन बेस्टिज अवार्ड २०१९ प्रदान गरिएको थियो। त्यस्तै सन् २०१३ मा भारतको पश्चिम बंगाल सरकारबाट संगीतमंजरी उपाधि प्रदान गरिएको थियो भने सन् २०१५ मा गुजरातमा सुरिल साँझका तर्फबाट स्वर्णपत्र प्रदान गरिएको थियो। नेपालको सन्दर्भमा उहाँले रेडियो नेपालबाट सन् २००२ मा भएको जिल्लाव्यापी संगीत प्रतियोगितामा प्रथम पुरस्कार पाउनु भएको थियो भने शास्त्र सम्मान २०१८, सेभ दी नेशन अवार्ड लगायतका पुरस्कार तथा सम्मान पाउनुभएको छ ।
३ दशक अघिदेखि संगीत साधनामा लागेका सरोदवादक राजोपाध्याय् सरोदवादन बाहेक उहाँका नेपालीमा पलपल, पानीसरी , त्यो रात, नेपाल भाषामा नसला, हसना, छन्हुनिन्हू, छगू मतिना, शास्त्रीय संगीततर्फ वनडे रागाज, सोलफूल म्यूजिक फर मेडिटेशन, भारतबाट सुरिल म्यूजिक इन २०१५ लगायतका सीडी तथा क्यासेटहरु प्रकाशित भएका छन् ।
