खाना पकाउने ग्यासको मूल्य घट्यो, पेट्रोल र डिजेलको बढ्यो

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेपछि लागू हुने गरी पेट्रोल लिटरमा ९ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा लिटरमा सात रुपैयाँ बढाएको हो ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर एक सय ३० रुपैयाँ घटाएको छ ।

भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर पहिलो वर्गमा एक सय ७०, दोस्रो वर्गमा एक सय ७२ र तेस्रो वर्गमा एक सय ७३ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा एक सय ५०, दोस्रोमा एक सय ५२ र तेस्रो वर्गमा एक सय ५३ रुपैयाँ कायम भएको छ । एलपी ग्यासको मूल्य भने प्रतिलिण्डिर एक हजार ६ सय ६० रुपैयाँमा झरेको छ ।