पाटनमा आज भीमसेन जात्रा

ललितपुर – व्यापारीहरुको देवताको रुपमा पुजिने ललितपुरको पाटनमा भीमसेन जात्रा आज हुँदैछ । पाटनमा रहेका चार भीमसेन मध्ये एक, मंगलबजारको जुजु भीमसेनको मूर्तिलाई आज बेलुकी साढे ७ बजे पछि खटमा राखेर पाटनको विभिन्न ठाँउमा परिक्रमा गरेर भीमसेन जात्रा मनाइन्छ।

हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाटनमा भीमसेन जात्राहुने गर्दछ । जात्रा गरिने भीमसेनको मूर्तिलाई आज विहान सखारै निकालिएको छ र दिनभरी विशेष श्रृंगारसहित विशेष पुजा गरे पछि मात्र जात्रा गरिनेछ ।

यो जात्रालाई जनसहभागिताको हिसावमा ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा पछिको दोश्रो ठूलो जात्राको रुपमा लिइन्छ।

पाटनको भीमसेनजात्रामा काठमाडौं , भक्तपुर र थिमीका व्यापारीहरुले क्षमापुजा गरेर सरीक हुने गर्दछन् । विशेष गरेर व्यापारीहरुले भीमसेनलाई व्यापार व्यवसायको देवताको रुपमा पुज्ने गर्दछन्।