वसन्तपुरमा सामूहिक धाः बाजा प्रदर्शनी

काठमाण्डाैं -देशभरका मानन्धरहरूको साझा संस्था केन्द्रीय मानन्धर संघले वसन्तपुरमा सामूहिक धाः बाजा प्रदर्शनी कार्यक्रम  गरेको छ । हिजो शनिबार भएको धाः बाजा प्रदर्शनीमा काठमाडौँ महानगरपालिकासँग सहकार्य गरी संघले १२ वटा टोलका विभिन्न खलः, पुचः र गुठीलाई सम्मिलित गराएको छ ।

काठमाडौँ उपत्यका र काभ्रे जिल्लामा सघन बसोबास गर्दै आएका मानन्धरहरूले बाजा प्रदर्शनीमा सहभागिता जनाएका हुन् । काठमाडौँको लाय्कूसाः मानन्धर समाज, भिंद्यः गुथि कालिमाटी, चस्वांद्व मानन्धर सनाःगू खलः, थँहिटी मानन्धर गुथि, दैसाः टोल मानन्धर समाज, न्यागःमणि फेदी मानन्धर संघ, मानन्धर सनाःगू खलः न्हूसाः, पाक्व पुखूद्यां सनाः खलः, कीर्तिपुरको श्रीपञ्चमी मानन्धर गुथि, चन्द्रागिरीको मच्छेगाँ मानन्धर गुथि, फयख्वाः मानन्धर गुथि रामकोट र जापाली (वाँख्यो दाफा भजन खलः) काभ्रेका मानन्धरहरूले मौलिक बाजा प्रदर्शनी गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा वाग्मती प्रदेश सांसद तथा पूर्वमन्त्री वसन्त मानन्धरले पुर्खाले हस्तान्तरण गरेको मौलिक बाजाको संस्कृतिलाई संरक्षण गर्ने काममा सक्दो सहयोग गर्ने बताउनु भयो । त्यस्तै, काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले देशकै गहनाको रूपमा रहेको अमूर्त सम्पदा संरक्षण, प्रवर्द्धन र विकासको लागि स्थानीय सरकारले काम गर्दै आएको बताउनु भयो ।

बाजा प्रस्तुति गरेका कलाकारहरू मध्ये अधिकांश १५ देखि ४० वर्षभित्रका किशोर, किशोरी, युवा तथा महिलाहरू थिए । संघले सांस्कृतिक पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण गरी अमूर्त सम्पदा संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले बाजा प्रदर्शनी कार्यक्रम गरेको हो ।